नवलपरासी । परासीस्थित एक निजी विद्यालयमा शिक्षकको कुटाईबाट विद्यार्थीको कानको जाली फुटेको छ । गृहकार्य नगरेको भन्दै रामग्राम नगरपालिका–४ बैरिहवास्थित हिलेरियस चिल्डे«न एकेडमीका शिक्षक आलम सिद्धकीले कुट्दा विद्यार्थीको जाली फुटेको हो ।
कक्षा ५ मा अध्यनरत बालक निखिल कोहारलाई कक्षाकोठामा पिटेर बालकको कानको जाली फुटेपछि बालकलाई अस्पताल भर्ना गरिएको बालकका परिवारले जानकारी दिएको छ ।
करिब एक महिना पहिले कक्षा ५ मा अध्यनरत १२ वर्षीय बालक कोहारलाई शिक्षक सिद्धकीले गृहकार्य नगरेको भन्दै कानमा लाग्नेगरी ४ झापड हिर्काएपछि बालकको कानबाट रगत आएको थियो ।
बालकलाई शिक्षकले पिटेर कानबाट रगत आएको खबर पाएपछि बालकका बुवा गंगाप्रसाद कोहार विद्यालय पुगी बालकलाई घर ल्याएका थिए ।
बालकको कानमा चर्को दुखाई र रगत पिप आउने क्रम नरोकिएपछि हालै बालकलाई बुटवलस्थित तिनाहुँ ईन्टरनेशनल अस्पतालमा भर्ना गरिएको हो ।
शिक्षकको पिटाईबाट घाईते भएको बालकको बायाँ तर्फको कानको जाली फुटेको चिकित्सकले बताएका छन् ।
आफ्नो गल्ती डाकछोप गर्न विद्यालय प्रसासनले कोहार परिवारको ४ जना बालबालिका लाई विद्यालयबाट निस्कासन समेत गरेको छ ।
घटना घटेको यतीका दिन हुदाँ पनि प्रहरी प्रशासनले चासो नराख्दा सर्वत्र बिरोध हुन थालेको छ ।




















