काठमाण्डौं । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएका बेला फरार भएका नख्खु कारागारका कैदी लुभुबाट पक्राउ परेका छन् ।
बुधबार अपरान्ह उपचार लागि लगिएका बेला फरार भएका कैदी ३१ वर्षका भोला बुढाथोकीलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो ।
नख्खु कारागारका जेलर सुवासकुमार बुढाथोकीका अनुसार बुढाथोकीलाई जिल्ला प्रहरी परिसर, ललितपुरको प्रहरी टोलीले पक्राउ गरेको हो ।
कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका भोलाले ९ वर्ष जेल सजाय काटिसकेका थिए ।
कैदी भागेको विषयलाई लिएर ललितपुरका एसपी देवेन्द्र पालको नेतृत्वमा ४ सदस्यीय छानविन समिति पनि बनाएको छ । कैदी भोला अस्पतालबाट हत्कडीसहित भागेका थिए ।




















