झापा । दमक नगरपालिकाका विभिन्न स्थानमा अनधिकृत रुपमा अनलाईन गेमिङ मार्फत सट्टाबाजी खेल खेल्ने र खेलाउने कार्यमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पद्मा ईन्टरनेशनल कन्सल्टेन्सीका संचालकहरू दमक नगरपालिका–८ ठेगाना भएका २५ वर्षीय सतप्रकाश साह, सोही नगरपालिका–७ ठेगाना भएका २७ वर्षीय राजु श्रेष्ठ, योर्स कम्युनिकेशन एण्ड फोटो स्टुडियो संचालक कमल गाउँपालिका–२ ठेगाना भएका ३० वर्षीय अरूण कार्की र ब्रिटिस आर्मी ट्रेनिङ सेन्टर दमकका संचालक दमक नगरपालिका–८ ठेगाना भएका ३३ वर्षीय राजु लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।
वनएक्स बेट एप्लिकेसनद्वारा पैसाको हारजित हुने गरी खेल खेल्ने र उक्त खेल खेलाउन अनधिकृत रुपमा अन्य व्यक्तिहरुको नागरिकताबाट एनसेलको सिम प्रयोग गरी आवश्यक पर्ने रकम प्राप्त गर्न ईसेवा मार्फत कारोबार गर्ने र कन्सल्टेन्सीमा आउने विद्यार्थीहरुको प्रयोगको लागि विभिन्न सरकारी कार्यालय तथा जनप्रतिनिधिहरुको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्र र एसईईको प्राप्ताङ्क समेत परिवर्तन गर्ने गरिएको भन्ने सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर आरआईटि शाखा, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरीको टोलीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको झापा प्रहरीले जानकारी दिएको छ ।
उनीमध्ये सतप्रकाश साहको साथबाट २४४ थान एनसेलका सिमहरु, विभिन्न कम्पनीका ९ थान मोबाइल, २ थान ल्यापटप, राजु श्रेष्ठको साथबाट ८० थान एनसेलका सिमहरु, १ थान मोवाइल, १ थान सिपियु, १ थान ल्यापटप, ४ थान स्ट्याम्प बरामद गरेको छ भने अरूण कार्कीको फोटो स्टुडियोबाट बिभिन्न कम्पनिका ९ थान मोबाइल, १ थान ल्यापटप तथा ५ थान स्ट्याम्प प्रहरीले बरामद गरेको छ ।
उनीहरू उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर र लिखत सम्बन्धित कसूर अन्तर्गत जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला अदालत झापाबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।




















