काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले महासचिवमा देव गुरुङलाई प्रस्ताव गरेका छन् । शनिवार बसेको स्थायी कमिटीको बैठकमा प्रचण्डले महासचिवमा गुरुङलाई प्रस्ताव गरेका हुन् ।
पार्टीका पदाधिकारीको नाम स्थायी कमिटीको बैठकमा प्रस्ताव गरिएको हो । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र महासचिवमा गुरुङको नाम पर्दा उपाध्यक्षमा कृष्णबहादुर महरालाई प्रस्ताव गरिएको छ ।
उपमहासचिवमा ७ जनाको नाम छ । वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल उपमहासचिवका लागि प्रस्तावित छन् ।
यस्तै, ९ जना सचिव हुने भएका छन् । दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्कीलाई सचिव चयन गर्ने तयारी भइरहेको छ ।
श्रीराम ढकाल कोषाध्यक्ष चयन भएका छन् । महासचिवका लागि शर्मा र पुनबिच तीव्र प्रतिस्पर्धा थियो। तर, प्रचण्डले दुवै जनालाई नछानेर गुरुङलाई महासचिवमा अघि सारेका हुन् ।
माओवादी केन्द्रले महाधिवेशन सम्पन्न भएको ७ महिनापछि मात्रै पदाधिकारी चयन गर्दैछ ।


