बर्दिया । छोराछोरीको हत्या गरेको अभियोगमा प्रहरीले १ जना पुरुषलाई पक्राउ गरेको छ । बैतडी जिल्ला दशरथचन्द नगरपालिका–२ घर भएका ३० वर्षीय डम्बरबहादुर बोहोरालाई छोरा र छोरीको हत्या अभियोगमा प्रहरीले पवmाउ गरेको हो ।
०७३ साल साउन २५ गते जन्मेकी छोरी स्मृतिलाई डम्बरले ०७४ साल फागुन २१ गते घुमाउन लैजान्छु भनेर लगेको दिनदेखी बेपत्ता छिन । उनी बेपत्ता भएको पनि ५ वर्ष भएको श्रीमती कृष्णा चन्द बताउँछिन् ।
छोरी बेपत्ता भएको दिनदेखि डम्बर पनि केही समयका लागि बेपत्ता भएका थिए । श्रीमतीले पटक–पटक छोरी कहाँ छिन भन्दा कहिले एसओएस बालग्राम काठमाण्डौमा त कहिले सुर्खेत भनेर झूट बोल्दै आएका थिए ।
पछिल्लो समय भारतमा बस्दै आएका उनी साउन ८ गते बासगढी फर्केको प्रहरीले जानकारी दिएको छ । उनीहरु बर्दियाको बासगढी नगरपालिका—५ एसओएस चोकमा डेरा लिई बस्दै आएका थिए ।
डम्बरले पुनः साउन १६ गते ४ वर्षीय छोरा दीपकलाई कपडा किन्ने बहानामा बजार लगेका थिए । तर उनी आफू मात्र फर्किए तर छोरा घर फर्किएनन् ।
तत्कालै श्रीमती कृण्णले छोरा हराएको भन्दै उनले इलाका प्रहरी कार्यालय बासगढीमा उजुरी दिएकी थिइन् । खोजतलासका क्रममा प्रहरीले साउन २३ गते बारबर्दिया नगरपालिका–९ स्थित कल्याण सामुदायिक वनमा दीपकको शव फेला पारेको थियो ।
‘दीपकको निर्ममतापूर्वक हत्या गरिएको थियो । तत्कालै छोराको हत्यामा बावु डम्बरलाई प्रहरीले नियन्त्रणमा लिएर बयान लिने क्रममा आफुले छोरा र छोरीको हत्या गरेको स्वीकारेको बर्दिया प्रहरीले जनाएको छ । उनले छोरीको हत्या गरेको ठाउँ बताए पनि पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।
डम्बर नेपाली सेनाका भगौडा सैनिक हुन् ।



