काठमाण्डौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबारलाई प्रतिबन्ध लगाउँदै जारी गरेको सूचना बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
अधिवक्ता सागर बराल, कोशिश गिरी, दिपेश ढकाललगायतले संविधान विपरित क्रिप्टोकरेन्सि कारोबारलाई प्रतिबन्ध लगाइएको दाबी गर्दै बुधबार रिट निवेदन दायर गरेका छन् ।

दायर गरिएको रिट निवेदनमा नेपालको संविधानको धारा १३३ (१) विपरित भएको जिकिर गर्दै संविधानकै धारा १३३ (३) बमोजिम उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गरिएको छ ।
क्रिप्टोकरेन्सीको कारोबारको प्रयोगलाई गैरकानुनी घोषणा गर्दै राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरेको छ । राष्ट्र बैंकले २०७४ र २०७८ सालमा जारी गरेको सूचनामा विदेशी विनिमय वा मुद्राको रुपमा मान्यता नपाएको र कानुनी ग्राह्य नभएको उल्लेख छ ।
जारी सूचनामा सरकारको जमानत प्राप्त नभएको र कुनै पनि किसिमको सुरक्षण नभएकाले क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी रहेको उल्लेख गरिएको छ ।
नेपाल प्रहरीले क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग गरेको व्यक्तिलाई पक्राउ गर्दा अपुरणीय क्षति पुग्नसक्ने हुनाले मुद्दाको अन्तिम किनारा नभएसम्म पक्राउ नगर्नु–गर्न नदिनु भनि भनि अन्तरिम आदेश जारी गर्नसमेत निवेदनमा माग गरिएको छ ।
प्रहरीले क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा बुधबार अमित श्रेष्ठलाई पक्राउ गरेको थियो ।


