सन्दर्भ तस्बिर
काठमाण्डौं । नेदरल्याण्ड पठाईदिन्छु भन्दै विभिन्न ब्यक्ति संग रकम ठगी गरेको अभियोगमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । खोटाङ बाह्रपोखरी गाउँपालिका–५ देवथान घर भई हाल काठमाण्डौं महानगरपालिका–३२ कोटेश्वर बस्ने मुन ह्युमन रिसोर्स प्रालिका सञ्चालक ३५ वर्षीय प्रकाश राईलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रकाशले विभिन्न १६ जना व्यक्तिहरूलाई वर्किङ भिषामा नेदरल्याण्ड पठाइदिने बहानामा प्रतिव्यक्ति १६ लाख रूपैयाँ उठाएका थिए । पिडित ब्यक्तिहरुले राईले आफुहरुलाई बिदेश लाने बहानामा ठगी गरेको भन्दै उजुरी दर्ता गराए पछि प्रहरीले पक्राउ गरेको हो ।
नेदरल्याण्ड पुगे पछि पानीजहाजको सिम्यानको रुपमा काममा लगाईदिने र सुरूमा मासिक ७५ हजार रूपैयाँ तलव हुन्छ भन्ने प्रलोभन देखाई उनीहरूबाट १ करोड ३६ लाख ५० हजार रूपैयाँ रकम ठगी गरी सम्पर्क विहिन भएका थिए ।
वैदेशिक रोजगार विभागले काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनलाई पत्राचार गर्दै राईलाइ पक्राउ गर्न भने पछि प्रहरीको टोलीले उनलाई कोटेश्वरबाट पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जानकारी दिएको हो ।
पक्राउ परेका राईलाइ अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाण्डौंमा बुझाइएको छ ।


