काठमाण्डौं । नेपाल पञ्चाङ निर्णयक समितिले साउन २७ गते शुक्रबार एकै दिन जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा मनाउन उपयुक्त हुने निर्णय गरेको छ ।
शुक्रबार एकै दिन रक्षा बन्धन, जनैपूर्णिमा र गाईजात्रा परेकोमा विभिन्न टिका टिप्पणी भइरहेको भन्दै समितिले त्यसप्रति आफ्नो धारणा सार्वजनिक गरेको हो । समितिले टिकाटिप्पणीबाट कुनै पनि भ्रममा नपर्न र कुनै सन्देह नराखी आफ्ना कृत्यहरु गर्न गराउन समितिले सबैमा आग्रह समेत गरेको छ ।
बिहीबार नै पूर्णिमा तिथि सुरु हुने भए पनि भद्रा पर्ने भएकाले त्यसको भोलिपल्ट शुक्रबार जनैपूर्णिमा तथा रक्षाबन्धन गर्न उचित हुने समितिले बताएको छ ।
समितिका अनुसार यसअघि १९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१ र २०७० सालमा पनि यसपालिको जस्तै तिथिको अवस्था परेकोले एकै दिनमा जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा मनाइएको समितिले स्मरण गराएको छ ।


