काठमाण्डौं । नेपाल प्रहरीका ६३ जना प्रहरी अधिकृतहरूलाई एक कार्यक्रम बिच दज्र्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रधान कार्यालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन ।
नेपाल सरकार सचिवस्तरको विभिन्न मितिको निर्णयले प्रशासन तथा प्राविधिकतर्फका विभिन्न पदमा पदोन्नति भएका ५७ जना तथा खुल्ला प्रतियोगिताद्वारा नवनियुक्त प्राविधिक प्रहरी निरीक्षक ६ जना गरी कूल ६३ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको प्रधान कार्यालयले जनाएको छ ।
दज्र्यानी चिन्ह पाउनेहरुमा प्रशासनतर्फका प्रहरी नायव उपरीक्षक ३३ जना, प्राविधिकतर्फका प्रहरी नायव उपरीक्षक ९ जना र प्राविधिकतर्फका प्रहरी निरीक्षक २१ जना रहेका छन् ।
कार्यक्रममा महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सक्षम र सबल जनशक्ति नेपाल प्रहरीमा ल्याउन प्रेरित गर्ने अभिभावकप्रति कृतज्ञता ज्ञापन गर्दै पदोन्नतिसँगै बढेको जिम्मेवारीलाई प्रहरी अधिकृतहरूले आ–आफ्नो योग्यता अनुसारको विशिष्टिकृत विधाहरूमा उत्कृष्ट काम गर्न निर्देशन दिए ।
उनले सबै प्रहरी कर्मचारीहरूले संगठनको मूल उद्देश्यमा केन्द्रीत भई संगठनको श्रीवृद्धिमा व्यावसायिक निष्ठाका साथ अनुशासित एवं मर्यादित ढङ्गले काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।
तस्बिर नेपाल प्रहरी प्रधान कार्यालय


