मकवानपुर । जिल्लाको ईन्द्रसरोवर गाउँपालिका ४ फाखेलबाट करिब ४ केजी अवैध लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट घर भएका २७ वर्षीय सुमन तामाङ समेत २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी फाखेलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बा. ४२ प ६९८९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको मकवनपुर प्रहरीले जनाएको छ ।
यस्तै गरी, हेटौंडा उपमहानगरपालिका ११ थानाभर्याङबाट करिब ४०० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर सहित सोही ठाउँ बस्ने २३ वर्षीय आशिष विश्वकर्मा समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
उता बझाङको बित्थडचिर गाउँपालिका ८ बागथलाबाट करिब १२ केजी अवैध लागुऔषध चरेश सहित दार्चुला शैल्यशिखर नगरपालिका १ बस्ने ४३ वर्षीय वीरेन्द्रबहादुर खडायतलाई प्रहरीले पक्राउ गरेको छ ।
चैनपुरदेखि महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र.०२–००१ ख १११९ नम्बरको बसलाई अस्थायी प्रहरी पोष्ट बागथलाबाट खटिएको प्रहरीको टोलीले चेक जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको महेन्द्रनगर प्रहरीले जानकारी दिएको छ ।
यता धादिङको गजुरी गाउँपालिका २ चालिसेबाट पनि ३ केजी अवैध लागुऔषध गाँजा सहित काठमाण्डौं महानगरपालिका १६ बनस्थली बस्ने १९ वर्षीय जयन्द्रध्वज राना समेत २ जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश ०२–०२५ प १०१२ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीको टोलीले चेक जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको गजुरी प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


