सन्दर्भ तस्बिर
दाङ । दाङमा करेन्ट लागेकी भाउजूलाई बचाउन खोज्दा देवर–देवरानीको मृत्यु भएको छ । मुत्यु हुनेमा राप्ती गाउँपालिका २ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहामगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहामगर रहेको दाङ प्रहरीले जनाएको छ ।
करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहले बताए । सुरुमा करेन्ट लागेकी भाउजु २७ वर्षीया भिमा गाहा मगर पनि घाइते अवस्थामा उपचार गराईरेहकी छिन् ।
प्रहरीका अनुसार कपडा सुकाउँदै गर्दा भिमा गाहामगरलाई करेन्ट लागेपछि उनकी देउरानी हिमा बचाउन पुगेकी थिइन् । तर हिमालाई पनि करेन्ट लागेको देखेका उनका श्रीमान बासुले लठ्ठीले तारलाई हिर्काए । तर तार नै चुँडिएर उनको शरीरमा परेपछि दुवै जनालाई करेन्ट लागेको थियो ।
बासु र हिमाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।


