काठमाण्डौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लब र प्रवक्ता प्रकाण्डलाई ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
ललितपुर जिल्ला अदालतले पार्टी महासचिव विप्लब र प्रवक्ता प्रकाण्ड सहित गोरखाका जिल्ला इन्चार्ज उमा भुजेललाई पक्राउ पुर्जी जारी गरेपछि उक्त दलले सरकारी कदमको विरोध गरेको छ ।
‘तीन बुँदे सहमतिकाविरुद्ध सरकार र राज्यले आज गराएको घटनालाई तुरुन्त रोकिएन भने यसवाट निम्तिने गम्भीर अवस्थाको जिम्मेवार सरकार र राज्यका अधिकारी हुनुपर्ने प्रवक्ता प्रकाण्डद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
पार्टी तीन बुँदे सहमतिको मर्म, वार्ता एवं सहमतिको माध्यम र शान्तिपूर्ण तरिका प्रति पार्टी दृढ रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ओली र वर्तमान सरकार वर्तमान ३ बुँदे सहमतिप्रति इमान्दार नदेखिएको नेकपाको ठहर छ ।
जारी बिज्ञप्तीमा पक्राउ पुर्जी जारी हुनुले शान्ति प्रक्रिया भाँडिने र देशलाई द्वन्द्वतिर धकेल्ने काम सरकारले गरेको विप्लव नेतृत्वको नेकपाले उल्लेख गरेको छ ।
उक्त दलका नेताहरुलाई जारी गरिएको पक्राउ पुर्जीले जनविरोधी चरित्रलाई मलजल पुर्याएको विप्लव नेतृत्वको नेकपाले जनाएको छ ।




















