जनकपुर । पूर्वराष्ट्रपति डा.रामवरण यादवले तराईलाई मरुभूमि हुनबाट जोगाउन चुरे क्षेत्रको संरक्षण गर्नुपर्ने बताएका छन् ।
जनकपुरमा आज भएको कार्यक्रममा पूर्वराष्ट्रपति यादवले चुरे क्षेत्र जैविक विविधतायुक्त क्षेत्र भएको उल्लेख गर्दै त्यसलाई जोगाउनुपर्ने बताएका हुन् ।
कार्यक्रममा डा.यादवले पछिल्लो समयमा चुरेको दोहन भइरहेकाले मधेशमा पानीको मुहान सुक्न थालेको, कृषियोग्य जमिन विस्तारै मरुभूमिमा परिणत हुँदै गइरहेको भन्दै चिन्ता समेत व्यक्त गरे ।
मधेश प्रदेशमा धेरै सम्भावना रहेको उल्लेख गर्दै पूर्वराष्ट्रपति यादवले तिनलाई अधिकतम सदुपयोग गरी उत्पादनमूलक क्षेत्रमा उपयोग गर्नुपर्ने सुझाव समेत दिएका छन् ।
कार्यक्रममा पूर्वराष्ट्रपति यादबले सबै नेपालीको साझा दस्तावेजका रूपमा रहेको संविधान जोगाउनुपर्ने भन्दै संविधान मधेश–पहाड–हिमालका साथै पूर्व–पश्चिम र उत्तर–दक्षिणलाई जोड्ने दस्तावेजका रूपमा रहेको बताए ।


