काठमाण्डौं । नेपाल प्रहरी श्रीमती संघ र राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएशन नेपाल (एन–प्याबसन)बीच प्रहरी कर्मचारीका परिवारका बिद्यार्थीहरुका सम्वन्धमा छात्रवृत्ति तथा भर्ना शुल्क सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल प्रहरी श्रीमती संघकोतर्फबाट संघकी अध्यक्ष श्रीमती कुसुमलता सिंह र एन–प्याबसनको तर्फबाट सह–अध्यक्ष सुवास न्यौपानेले संघको कार्यालय भृकुटीमण्डपमा आइतबार आयोजित एक कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा संघकी अध्यक्ष सिंहले शान्ति सुरक्षाको अतिरिक्त प्राकृतिक प्रकोप, आपद विपद तथा अपराध नियन्त्रणमा समेत आफ्नो ज्यानको प्रवाह नगरी देश र जनताको लागि खटिएका प्रहरी कर्मचारी, अमर प्रहरी तथा पूर्व प्रहरी कर्मचारीहरूले पुर्याएको योगदानको उच्च मुल्याङ्कन गरी एन–प्याबसनले प्रदान गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरिन । शैक्षिक सेवा विस्तार तथा योगदानकाहरू आगामी दिनमा अझै विस्तारित हुने सिंहले बिचार राखिन ।
एन–प्याबसनका सह–अध्यक्ष सुवास न्यौपानेले राम्रो काम थलानी भएको भन्दै नेपाल प्रहरीका परिवारलाई शैक्षिक सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।
सम्झौता बमोजिम एन–प्याबसनसँग आवद्ध देशभरका विद्यालय तथा १०ं प्लस २ सम्मको लागि प्रत्येक विद्यालयमा बढीमा १ जना छात्रवृत्ति पर्ने गरी अमर प्रहरी, असहाय र अन्यलाई वार्षिक भर्ना शुल्क नलिने र विद्यार्थी भर्ना गरिने सम्झौतामा उल्लेख गरिएको छ । आज भएको सम्झौता आगामी साउन १ गतेदेखि लागु भई २०८१ असार ३० गतेसम्म २ वर्षका लागि लागू हुने उल्लेख गरिएको छ ।
उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक पुजा सिंह, प्रहरी नायव महानिरीक्षकहरु, श्रीमती संघका पदाधिकारीहरु, एन(प्यावसनका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।


