काठमाण्डौं । नेपाल सरकार (मन्त्रीस्तर)को २०७९ असार १७ गतेको निर्णय अनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका बसन्तबहादुर कुवर सहितका १७ जनालाई आज एक कार्यक्रम बिच दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा सबैलाई प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
दर्ज्यानी चिन्ह पाउनेहरुमा बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दिपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भिमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा रहेको प्रधान कार्यालयले जानकारी दिएको छ ।
कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकहरूलाई बधाई दिँदै भविष्यमा नेपाल प्रहरी संगठनको उच्च तहमा पुग्न सक्षम भएको प्रमाणित गराउने गरी काम गर्दै प्राप्त जिम्मेवारीहरुको कार्यसम्पादनमा खरो रूपमा उत्रि सुझाव दिए । उनले पदोन्नति पछिका दिनहरू अझ चुनौतीपूर्ण रहेको भन्दै प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न पनि निर्देशन दिएका थिए ।
प्रहरी महानिरीक्षक सिंहले संगठनमा सीमित पदमा मात्र पदोन्नति गर्नुपर्ने वाध्यता भएको चर्चा गर्दै पदोन्नतिमा छुटेका प्रहरी अधिकृतहरूले अझ व्यवसायिकताका साथ दत्तचित्त भएर कार्यसम्पादन गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले मालदिभ्समा आयोजना भएको एसियन जुनियर एण्ड क्याडेट टेवलटेनिस च्याम्पियनसीप २०२२ मा रजत पदक प्राप्त गर्न सफल भएकी नेपाल पुलिस क्लबका टेवलटेनिस खेलाडी शुभश्री श्रेष्ठलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।
पदोन्नति भएका मध्ये बसन्तबहादुर कुँवरले कार्यक्रममा बोल्दै कर्मको जीवन दिने आमारूपी नेपाल प्रहरी संगठनप्रति सदैव इमानदार, बफादार र पेशागत व्यवसायिक निष्ठा कायम राखी जुनसुकै किसिमको गैर व्यवसायिक आचरण, व्यवहार, हाउभाउ र जीवनशैलीप्रति शून्य सहनशिलता अपनाउँदै सांगठनिक लक्ष्य हाँसिल गर्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।
तस्बिर नेपाल प्रहरी प्रधान कार्यालय






















