सन्दर्भ तस्बिर
रौतहट । महिलालाई प्रेमजालमा पारी नगद तथा विभिन्न सुनका गहना लुटपाट गरी फरार भएका बारा प्रसौनी गाउँपालिका ४ खुटवा प्रसौनी बस्ने ३६ वर्षीय महमद रफिक रायभाटलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
रौतहट चन्द्रपुर नगरपालिका ४ स्थित चपुर पराठा एण्ड गेष्ट हाउसमा एक महिलालाई लगी महिलाकै नाममा कोठा बुक गरी नगद तथा गरगहना लुटपाट गरेर फरार भएका रायभाटलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । संगै बसेका उनल खाने कुरामा बेहोस हुने औषधी राखेर बेहोस बनाई महिलाका सुनका विभिन्न गहना र नगद १० हजार रुपैयाँ लुटेर फरार भएको रौतहट प्रहरीले जानकारी दिएको छ ।
महिलाबाट सुन र नगद गरी २ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल लुटी फरार भएको घटनामा प्रहरीले अनुसन्धान गर्ने क्रममा रायभाटको संलग्नता देखिएपछि उनलाई प्रहरीले पक्राउ गरीएको हो ।
रायभाटले महिलाहरुलाई फोन तथा सामाजिक संञ्जालको माध्यमबाट प्रेमजालमा पारी घुम्न जाने बहानामा घरबाट बाहिर बोलाई होटेलमा लगी पीडितकै नामबाट होटेलको कोठा समेत बुक गरेका थिए । उनले पेय पदार्थमा लठीने नसालु पदार्थ मिसाई खुवाई बेहोस पारी गरगहना लगायत रकम समेत लुटेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
पक्राउ परेको रायभाटका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



