साँकेतिक तस्बिर
खोटाङ । आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले २९ बर्षिय निरबहादुर खड्कालाई पक्राउ गरेको छ ।
जिल्लाको जन्तेढुङगा गाउँपालिका ५ चिसापानी खुट्टा डढुवा घर भई हाल सुनसरी ईटहरी उपमहानगरपालिका १६ बालग्राम चौकमा डेरा गरी बस्ने ७७ वर्षीया तुलसा खड्काको हत्या अभियोगमा झापा गौरादह नगरपालिका ३ धोबिनी चोक बस्ने हरि भन्ने २९ वर्षीय खड्कालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
खोटाङ बराहपोखरी गाउँपालिका ५ पानिटारस्थित दुधकोशी नदीको बगरमा बालुवाको खाल्डोभित्र गत वैशाख ३१ गते दिउँसो तुलसाको शव फेला परेको थियो ।
घटनाको अनुसन्धानको क्रममा उनकै नाती निरबहादुर खड्काले हत्या गरेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीको टोलीले झापा मेचीनगर नगरपालिका ६ काँकडभिट्टास्थित नेपाल भारत सिमा क्षेत्रमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको खोटाङ प्रहरीले जनाएको हो ।
अनुसन्धानको क्रममा निरबहादुरले हजुरआमालाई वैशाख २६ गते ईटहरीबाट खोटाङ चिसापानीतर्फ लैजादै गर्दा बराहपोखरी गाउँपालिका ५ पानीटारस्थित दुधकोशी नदीको बगरमा हत्या गरी खाल्डोमा पुरेर फरार भएको खुल्न आएको छ ।
पक्राउ परेका निरबहादुर उपर कर्तव्य ज्यान कसूर मुद्दामा जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



