कल बाईपासमा प्रयाेग भएका सामाग्री
पर्सा । कल बाइपास गरेको आरोपमा भारतीय नागरिकलाई प्रहरी वीरगंजबाट पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका २ स्थित भाडाको घरबाट कल बाइपास (भिओआईपि) संचालन गरेको अभियोगमा भारत उत्तर प्रदेश जौनपुर थाना बादशाहपुर ग्राम टेलाकुवा ठेगाना भएका ३८ वर्षीय ईरफान सुफियान खानलाई पक्राउ गरेको वीरगंज प्रहरीले जनाएको छ ।
खानले वीरगंजस्थित भाडाको घरमा ईलेक्ट्रोनिक मेसिनहरू जडान गरी गैरकानूनी ढंगबाट राजश्व चुहावट गर्दै कल वाइपास सेन्टर संचालन गरेको विशेष सुराकीको आधारमा प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीको टोलीले घर तलासी गर्दा कल वाइपासमा प्रयोग भएका विभिन्न सामानहरू फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनको कोठाबाट ३२ पोर्टको भिओआईपि गेटवे १ थान, राउटर २ थान, ईन्भटर १ थान, नेपाल टेलिकमको सिमकार्ड ४० थान र एनसेलको सिमकार्ड ५८ थान प्रहरीले बरामद गरेको छ ।
उनी उपर दूर सञ्चार ऐन, २०५३ अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


