काठमाण्डौं । लागूऔषध दूर्व्यसनमा परेका ब्यक्तिहरुलाई चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेचबिखन गर्ने राजधानीका विभिन्न स्थानका फार्मेसी सञ्चालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धादिङ गंगाजमुना गाउँपालिका ५ घर भई हाल काठमाण्डौं तारकेश्वर नगरपालिका ५ लोलाङस्थित गंगाजमुना फार्मेसी संचालन गरी बस्ने ४२ वर्षीय डिलबहादुर कार्की, नुवाकोट ककनी गाउँपालिका १ स्थायी वतन भएका २२ वर्षीय राजकुमार तामाङ, २२ वर्षीय सानु तामाङ र काठमाण्डौं तारकेश्वर नगरपालिका ५ गोलढुङ्गा बस्ने २४ वर्षीय संजय पुतुवार रहेका छन् ।
गंगाजमुना फार्मेसीमा बिना इजाजत अवैध रूपमा औषधिहरु वेचबिखन गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीको टोलीले अनुसन्धानको क्रममा संलग्नता देखिएपछि उनीलाई पक्राउ गरेको हो ।
साथै फार्मेसीबाट स्पास्पेन ४५० ट्याब्लेट, ट्रमा २४० ट्याब्लेट र ट्रमाडोल ५०० क्याप्सुल प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारबाहीको लागि औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाण्डौंमा बुझाइएको प्रहरी बृत्त बालुजुले जनाएको छ ।


