नुवाकोट । नुवाकोटको ककनीस्थित हाइटेन्सन प्रसारण लाइनमा चढेका एक व्यक्तिका कारण प्रहरी हैरान भएको छ । बिहानदेखि खाना पानीसमेत नखाएका बेलकोटगढीका प्रेमबहादुर बिक ‘माइला’ त्यहाँबाट झर्न मानिरहेका छैनन् ।
‘अझै तारमा यताउता गरिरहेका छन्, झर्न मानिरहेका छैनन्,’ नुवाकोटका प्रहरी प्रवक्ता रुपक खड्काले भने, ‘आधा पोलसम्म झरिसकेको पनि फेरि उक्लिए ।’
उनका अनुसार स्थानीय परिचालन गरेर मासु खाना दिने भनेर फकाउन खोजे पनि झर्न मानेका छैनन् । उनले अहिलेसम्म उद्धारका लागि हेलिकप्टर ल्याउने कुरा जानकारीमा नभएको बताए ।
अहिले ६० मेगावाटको त्रिशुली थ्री–ए आयोजना नै बन्द भएको छ । ती व्यक्ति चढेको पोलमा त्रिशुली थ्री–ए आयोजनाबाट काठमाडौंमा विद्युत ल्याइएको २२० केभी प्रसारण लाइन जडान भएको छ । उक्त प्रसारण लाइनमा डबल सर्किट छ ।
तस्वीरः हरिकुमार गुरुवाचार्यको फेसबुकबाट



