मुग्लिन । बिहीबार राती मस्र्याङदी नदीको आएको बाढीका कारण आँबुखैरेनीको साँखरमा भासिएको सडकमा आजदेखी एकतर्फी रुपमा सबै प्रकारको सवारी आवतजावत गर्न दिईएको छ । बाढीका कारण शुक्रबार बिहानै आँबुखैरेनी गाउँपालिका ४ को साँखरमा रहेको सडक भासिएको थियो ।
पृथ्वीराज मार्ग अन्तरर्गत रहेको आँबुखैरेनी–मुग्लिन सडक खण्डको साखरमा सडक भासिए संगै सवै प्रकारको सवारी आवागमन बन्द भएको थियो । शुक्रबार मध्यान्नदेखी हलुका सवारी साधनलाई मात्र सञ्चालनको अनुमती दिएको थियो ।
सडक डिभिजन कार्यालय दमौलीले शुक्रबारदेखी नै सडक संगै रहेको भीर फोरेर साना तथा हलुका सवारीलाई आउजाउ गर्न दिएको भएता पनि शनिबार भने ठुला सवारी साधनलाई पनि आउजाउ गर्न दिएको हो ।
डिभिजन कार्यालयले आज बिहानैदेखी मेशिन प्रयोग गरेर भीर फोर्न थालेको छ । बिहीबार साँझदेखी अलपत्र परेका ठुला सवारीलाई पनि आज बिहानैदेखी सञ्चालनमा अनुमती दिए संगै सडकमा अलपत्र परेका अधिकाशं ठुला सवारी पास भई सकेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरिक्षक सुरज डाँगीले जानकारी दिए ।
अहिले पनि साँखरमा सडक डिभिजन कार्यालय तनहुको १ वटा स्काभेटर, १ वटा लोडर र सडक डिभिजन कार्यालय हेटौडाबाट ल्याइएको १ वटा ब्रेकरले काम गरिरहेको यान्त्रिक कार्यालय डुम्रेका साइड इन्चार्ज राम ढुङ्गानाले जनकारी दिएका छन् ।
इन्चार्ज ढुङ्गानाका अनुसार प्रत्येक १–१ घण्टामा सवारी साधनलाई आउजाउ गर्न दिईएको छ । उनका अनुसार सडक पूर्ण रुपमा सञ्चालनमा ल्याउन अझै ३ दिन लाग्न सक्ने छ ।
त्यस्तै गरी, राजधानी जोड्ने मुख्य राजमार्गहरु यतिबेला खुल्ला रहेका छन् । मुग्लिन–नारायणगढ र मुग्लिन–नौविसे सडक खण्डको विभिन्न ठाउमा खसेको पहिरो हटाइ राति २ बजेबाट पूर्णरुपमा यातायात सञ्चालन ल्याईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख धर्मबहादुर अधिकारीले बताए ।
तस्बिर बिनाेद श्रेष्ठ


