आँबुखैरेनी । पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी–मुग्लिन सडक खण्डको साँखरबाट साना सवारी साधन एकतर्फी रुपमा सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय तनहुँले भीर काटेर मध्यान्नदेखि साना सवारीलाई एकतर्फी रुपमा सञ्चालनमा ल्याएको हो ।
आँबुखैरेनी गाउपालिका ४ को साँखरमा बिहीबार राती परेको अबिरल बर्षाका कारण शुक्रबार बिहानै सडक भासिदा दुवैतर्फको सवारी आवागमन अवरुद्व भएको थियो । डिभिजन कार्यालय दमौलीबाट आएको ईन्जिनियरहरुको टोलीले भीर काटेर मात्र सवारी सञ्चालन गर्न सकिने निर्णय संगै मेशिनले भीर काट्न थालिएको हो ।
अहिले केही भीर काटिएको र हलुका सवारीलाई आवत जावत गर्न पालो दिईएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ । तर ठूला सवारी साधनले भने केही दिन कुरेर मात्र आवतजावत गर्न पाउने भएको छ । २-३ दिनमा आवश्यकता अनुसारको भीर काटेर मात्र ठुला सवारी साधनलाई सञ्चालनमा आउन दिने डिभिजन कार्यालय दमौलीले जनाएको छ ।
कार्यालयले अहिले भित्तातर्फको भाग काटेर अस्थायी सडक बनाउन थालेको छ । कामलाई जति सक्दो चाढो सकेर ठुला सवारी साधन सञ्चालनमा ल्याउने कार्यमा कार्यालय लागि परेको छ । साँझसम्म आँबुखैरेनी र मुग्लिन तर्फ अड्कीएका साना सबै सवारी पास भई सकेका छन् ।
पहिरोमा बा १० च ४६७९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको मोटरसाइकल पुरिएको अनुमान गरिएको छ भने २ जना पुरुषको शव फेला परेको छ । बरामद शव मध्ये १ जना गोरखा सिरानचोक गाउँपालिका ५ छोप्राकको भएको र अर्का ब्यक्तिको पहिचान हुन नसकेको इप्रका आँबुखैरेनीका प्रहरी निरिक्षक सुरज डाँगीले जानकारी दिए ।
तस्बिर बिनाेद श्रेष्ठ मुग्लिन बजार


