काठमाण्डौ । विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्रै रहने प्रक्षेपण गरेको छ । ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले यसअघिको प्रक्षेपणभन्दा ०.२ प्रतिशत कम आर्थिक वृद्धि हुने अनुमान गरेको हो ।
त्यस्तै गरी, आगामी आर्थिक वर्ष सन् २०२३/०२४ का लागि नेपालले ५.८ प्रतिशतको वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । नेपालले भने आर्थिक वर्ष २०७८/०७९ का लागि ५.८४ र आर्थिक वर्ष २०७९/०८० का लागि ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ ।
यसैगरी सन् २०२३/०२४ मा भारतले भने ७.१ प्रतिशत आर्थिक वृद्धि कायम गर्ने अनुमान गरिएको छ । त्यसैगरी बंगलादेशले ६.९, भुटानले ६.७ र पाकिस्तानले ४ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकले प्रक्षेपण गरेको छ ।
दक्षिण एसियामा सबैभन्दा राम्रो आर्थिक वृद्धिदर माल्दिभ्सको हुने अनुमान गरिएको छ । माल्दिभ्सले सन २०२२ मा ७.७, २०२३ मा १०.२ र २०२४ मा ७.१ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने अनुमान विश्व बैंकले गरेको छ ।



