काठमाण्डौं । काठमाण्डौं उपत्यकाको फोहोर विसर्जन गर्न बञ्चरेडाँडा पुगेका सबै टिपरहरू फोहोर नफाली फर्किएका छन् ।
बुधबार बञ्चरेडाँडाका स्थानीयले अवरोध गरेपछि फोहोर नफाली टिपरहरू काठमाण्डौंतर्फ नै फर्किएका हुन् ।
करिब १५० वटा टिपर फोहोर विसर्जन नगरी काठमाण्डौं फर्किएको हो ।
सोमबार काठमाण्डौं महानगर, सहरी विकास मन्त्रालय र काठमाण्डौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमतिपश्चात् मंगलबारदेखि फोहोर उठाउने भनिएको थियो । उक्त सहमितसँगै काठमाण्डौंको फोहोर बञ्चरेडाँडामा लगिएको थियो ।
बुधबार स्थानियको अवरोधका विच पनि प्रहरी परिचालन गरेर फोहोर फाल्न पुगेको ट्रक फोहर लिएरै फर्किएको थियो । स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका थिए भने प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।
बन्चरेडाँडाका स्थानीयले यसअघि सरकारसँग भएका सहमति पालना गरिनुपर्ने मागसहित विरोध जारी राखेपछि काठमाण्डौंको फोहोर विसर्जनमा पुनः समस्या आएको छ ।


