सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि डोकोमा बोकेर लगिएका एक वृद्धको भीरबाट लडेर मृत्यु भएको छ ।
चिङ्गाड गाउँपालिका २ काफलकाँडाका नन्दवीर खड्काको सामाजिक सुरक्षा भत्ता बुझेर फर्किंदै गर्दा भिरबाट लडेर मृत्यु भएको वडा अध्यक्ष प्रेमबहादुर खड्काले जानकारी दिए ।
वडाअध्यक्ष खड्का अनुसार अन्दाजी ८०–८५ बर्षिय खड्कालाई ३ नम्बर स्थित ठाँटी बजारमा रहेको सानीमा बैंकको शाखामा भत्ता बुझ्नका लागि उनका छोराहरूले डोकोमा बोकेर लगेका थिए ।
घर फर्किने क्रममा चिङ्गाड खोलाको राजीकुना भन्ने ठाउँमा बोक्ने व्यक्ति (छोरा)को खुट्टा चिप्लिदा दुबै जना लडेका थिए । बृद्ध खड्काको घटनास्थलमै मृत्यु भएको र छोरालाई भने सामान्य चोट पटक लागेको वडा अध्यक्ष खड्काले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष बोधविक्रम जिसीले गाउँपालिका भौगोलिक हिसाबले विकट भएकाले सामाजिक सुरक्षा बुझ्न बैंकसम्म आइपुग्ने नागरिकहरूले सास्ती खेप्नु परेको बताए । सम्बन्धित वडाबाटै भत्ता वितरणका लागि चाँडैले बैंकसंग छलफल गर्ने अध्यक्ष जिसीको भनाइ छ ।




















