काठमाण्डौं । महानगरपालिकाले नगरभित्रका होटलहरूका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोगमा ल्याउने अवधारणा ल्याएको छ । मेयर बालेन्द्र शाहले महानगरपालिका भित्र छुट्टै सार्वजनिक शौचालय निर्माण गरेर सबैको आवश्यकता पूर्ति नहुने देखिएको भन्दै होटलहरुमा रहेको शौचालय प्रयोगमा ल्याउने नीति लिइएको बताए ।
यसका लागि पहिलो चरणमा केही होटल तथा रेष्टुरेन्टहरुसँग आफ्नो कुरा भइसकेको र थप होटलहरूसँग पनि यसका लागि प्रस्ताव गर्ने उनले बताए । होटलको शौचालय प्रयोग गरेबापत सर्वसाधारणले पैसा तिर्नु नपर्ने समेत मेयर शाहले बताए ।
सार्वजनिक शौचालयका लागि सहमति दिने होटललाई महानगरले स्टिकर प्रदान गर्ने र सोका आधारमा सर्वसाधारणले शौचालय प्रयोग गर्न पाउने उनले बताए । निर्वाचन भएपछि आफ्नो घोषणा बमोजिम पहिलो नगरसभाको बैठक लाइभ गरेका मेयर शाहले महानगरको फोहोर व्यवस्थापन, खानेपानी, ढल निकासी लगायत अन्य सरोकार पक्षमा महानगरले तत्काल कदल चालिने बताए ।


