साँकेतिक तस्बिर
काठमाण्डौं । संविधानले हरेक निकायमा १३ प्रतिशत दलित समुदायको प्रतिनिधित्वको व्यवस्था गरेको भएत पनि हालै सम्पन्न स्थानिय निर्वाचनमा जम्मा ९ वटा पालिकामा मात्र दलित समुदायको नेतृत्व देखिएको छ । स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखको हकमा यो व्यवस्था नहुदा दलित समुदायबाट प्रतिनिधित्व गर्नेको संख्यामा कमी आएको हो ।
देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका रहेका छन् । २०७४ को निर्वाचनमा दलित महिला प्रतिनिधित्व भने ९७.३८ प्रतिशत रहेको थियो । तर, दलित महिला सदस्य पद कार्यकारी भने होइन । संविधानले व्यवस्था गरेको यही पदका कारण दलित महिलाको प्रतिनिधित्व बढी देखिएको हो ।
गत निर्वाचनमा २९३ नगरपालिका प्रमुखमध्ये जम्मा ६ जना दलित निर्वाचित भएका थिए भने उपप्रमुख ११ जना थिए । ४६० गाउँपालिका अध्यक्षमध्ये पहिलो निर्वाचनमा देशभरका गाउँपालिकामध्ये एउटामा मात्र दलित अध्यक्ष निर्वाचित भएका थिए । गाउँपालिका उपाध्यक्षमा भने १६ जना थिए । यता देशभरका ६ हजार ७४३ जना वडामा १९७ जना दलित प्रतिनिधि निर्वाचित भए ।
यसपटकको स्थानीय तहको परिणामलाई हेर्दा दलित समुदायको प्रतिनिधित्वमा अघिल्लो निर्वाचनभन्दा खासै भिन्नता देखिएको छैन । परिणाम सार्वजनिक भएका स्थानीय तहमध्ये ३ जना नगरपालिका प्रमुख र ६ जना गाउँपालिका अध्यक्ष निर्वाचित भएका छन् । बागमती प्रदेशमा भने कुनै पालिकामा दलित प्रतिनिधि प्रमुखमा निर्वाचित भएका छैनन् ।
उदयपुरको ताप्ली गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट ढुङ्गराज विश्वकर्मा विजयी भएका हुन् । उनले १ हजार ७८७ मत ल्याए। उनका प्रतिस्पर्धी नेकपा एमालेका बाबुराम राईले १ हजार ७४९ मत ल्याए ।
मधेश प्रदेशको धनुषा विदेह नगरपालिकाको मेयरमा एमालेबाट बेचन दास तत्मा विजयी भएका छन् । उनले ४ हजार ४१२ मत ल्याए । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका राजकिशोर रोहिता यादवले ३ हजार ४२६ मत ल्याए ।
गण्डकी प्रदेशको बागलुङ्गको ढोरपाटन नगरपालिकाको प्रमुखमा एमालेका देवकुमार नेपाली बिजयी भए । नेपालीले ५ हजार ७३५ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका चन्द्रलाल अर्यालले ५ हजार १३५ मत ल्याए ।
उता ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका धनबहादुर विक विजयी भए । ताराखोलाको प्रमुखमा निर्वाचित धनबहादुर विकले २ हजार २८५ मत ल्याए । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरले २ हजार ९० मत ल्याए ।
लुम्बिनी प्रदेशको प्युठानको सरुमारानी गाउँपालिका अध्यक्षमा एमालेबाट झगबहादुर विश्वकर्मा र बाँकेको खजुरा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रबाट डम्बरबहादुर विक निर्वाचित भए ।
सरुमारानीमा निर्वाचित झगबहादुरले ४ हजार २८० मत पाउँदा उनका प्रतिस्पर्धी कांग्रेसका मुकुन्दराज शर्माले ४ हजार १९४ मत पाएका छन् । खजुरामा निर्वाचित डम्बरबहादुर विकले १० हजार ७९० मत पाउँदा उनका प्रतिस्पर्धी एमालेका सुमन मल्लले ९ हजार १३७ मत पाए ।
दलित समुदायको धेरै बसोबास भएको क्षेत्र कर्णालीमा यसपटक पनि दलित समुदायको प्रतिनिधित्व बलियो हुन सकेन । १० जिल्ला रहेको कर्णालीमा जम्मा २ पालिकाले मात्र प्रमुखका रूपमा दलित प्रतिनिधि पाएका छन् ।
सुर्खेतको चौकुने गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका खड्क विक र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको मेयरमा माओवादी केन्द्रकै पुष्प वादी विजयी भए । चौकुनेमा निर्वाचित खड्क विकले ५ हजार ४७६ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका हरि अधिकारीले ३ हजार ४१४ मत ल्याए। चौरजहारी नगरपालिकाको प्रमुखमा निर्वाचित पुष्प वादीले ६ हजार ८८२ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका प्रेमबहादुर वलीले ६ हजार ३११ मत ल्याए ।
सुदूरपश्चिम प्रदेशको डडेल्धुराको आलिताल गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका शेरसिंह पार्की विजयी भएका छन् । उनले २३८९ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका बलबहादुर गुरुङले २ हजार २२४ मत ल्याए ।




















