किभ । रुसका राष्ट्रपति भलादमिर पुटिनले महङ्गा डिजाइनर पहिरन लगाउन रुचाउँछन् तर उता युक्रेनका भोलोदमिर जेलेन्स्कीले चाहिँ साधारण मान्छेले शपिङ गर्ने ठाउँमा लुगा खरिद गर्ने टेरेस रड्निस्की बताउँछन् । उनी जेलेन्स्कीको चर्चित हरियो ज्याकेट उत्पदान गर्ने ‘एम–ट्याक’ कम्पनीका युक्रेनी म्यानेजर हुन् ।
रुसले युक्रेनमा हमला सुरु गरेदेखि जेलेन्स्कीलाई त्यही एउटै किसिमको पहिरनमा मात्र देखिएको छ । यसबीच उक्त ज्याकेटको माग आकाशिएको अवस्था रहेको टेरस बताउँछन् । हरेक दिन हजारौँ मानिसहरुले त्यसबारे सोधखोज गर्ने गरेको र विश्वभरबाट उच्च माग आइरहेको पनि उनले बताए ।
तर कम्पनीले त्यो ‘फ्लिस ज्याकेट’ पूर्ण रुपमा युक्रेनमा निर्माण गर्छ र युद्ध सुरु भएदेखि त्यहाँको सेनाकै लागि भनेर मात्र उत्पादन गरिरहेको छ । यसको अर्थ हाल त्यो ज्याकेट स्टकबाट सकिएको अवस्था छ ।
यसबारे टेरेस भन्छन्, “पक्कैपनि हाम्रो जितपछि यसलाई पुनः स्टकमा ल्याउने आशा गरेका छौँ । ” हाल सबैतिरबाट आक्रमण जारी रहेको अवस्थाका कारण उत्पादन जारी राख्नु असम्भव समान रहेको उनले थप बताए ।जेलेन्स्कीले सो ज्याकेट यति धेरै लगाएका छन् कि भिडियो मार्फत बाँकी विश्वसँग अन्र्तक्रिया गर्दा हरेकपटक उनी त्यही पहिरनमै हुन्छन् । यसले पनि उनको हरियो ज्याकेट एक किसिमले युक्रेनी भावना र बहादुरीको चिन्ह बन्न पुग्यो । आज त्यसलाई नचिन्ने सायदै कोही होला ।
युद्ध अवधिभरि जेलेन्स्कीको लिडरशीप शैलीले उनलाई विश्वव्यापी लोकप्रियताको शिखरमा पुर्यायो । टेरेसका अनुसार जेलेन्स्की अहिले रकस्टार जत्तिकै भएका छन् जसलाई पूरै दुनियाँ ‘फलो’ गर्न चाहन्छ । सबैलाई उनको स्टाइलबारे अत्यन्तै चासो छ ।
यसअघि जेलेन्स्कीको त्यही मेक–ट्याक ज्याकेट १ लाख १० हजार डलरमा लिलाम भएको थियो जसमा उनले व्यक्तिगत हस्ताक्षर पनि गरेका थिए ।
अहिले उनको सो हरियो ज्याकेट मात्र नभएर एमट्याकका अन्य उत्पादनको माग पनि ठूलो स्तरमा वृद्धि भएको छ । ती उत्पादन युद्धमा व्यवहारिक र प्रभावकारी साबित भइरहकाले पनि सेना नै आफ्नो सबैभन्दा ठूलो ग्राहक बन्न पुगेको उनी बताउँछन् ।
इन्साइडरबाट




















