गोरखा । गोरखाको ५ स्थानिय तहमा मतगणना कार्य सम्पन्न भएको छ । प्राप्त विवरण अनुसार ४ वटामा माओवादी केन्द्र र १ वटामा नेपाली काँग्रेसले जित हात पारेको छ । ११ स्थानीय तहमा रहेको ९४ वडा मध्ये समाचार तयार पार्दासम्म ७३ वटा वडाको मत गणना सम्पन्न भएको छ ।
सार्वजनिक भएको मतपरिणाम अनुसार माओवादी केन्द्रले बारपाक सुलिकोट, शहीदलखन र अजिरकोटमा अध्यक्ष र उपाध्यक्ष तथा भीमसेन थापा गाउँपालिकामा अध्यक्षमा विजय हात पारेको हो । भीमसेन थापाको उपाध्यक्षमा भने नेपाली कांग्रेसले जित हात पारेको छ । उता आरुघाट गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्ष र उपाध्यक्षमा जित हात पारेको छ ।
यस्तै गरी, सार्वजनि गरिएको मतपरिणाम अनुसार ७३ वडामध्ये माओवादी केन्द्रले ३३, नेपाली कांग्रेसले २७, एमालेले १०, जसपाले २ र स्वतन्त्र उमेद्वारले १ वडाको नेतृत्व पाएका छन् ।
जिल्लाको गोरखा र पालुङटार नगरपालिका, धार्चे, गण्डकी र सिरानचोक गाउँपालिका मतगणना जारी छ । उत्तरी गोरखामा रहेको चुमनुब्री गाउँपालिकामा भने अहिलेसम्म पनि विवादका कारण मतगणना सुरु हुन सकेको छैन् ।
२०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेस ९ पालिका सहित ४५ वडा, माओवादी केन्द्रले २ पालिका सहित ३० वडा, नेकपा एमाले १४ वडा र जसपा ५ वडामा निर्वािचन जितेको थिए ।




















