तनहुँ । कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा शुक्लागण्डकी नगरपालिका १० बस्ने ३८ वर्षीय बिमल सुनार, ८ बस्ने २५ वर्षीय सुशिल बिक र ३ मा बस्ने ४७ वर्षीय होमबहादुर बिक रहेका छन् ।
शुक्लागण्डकी नगरपालिका ५ गल्छिना बस्ने २९ वर्षीय बिशाल ढुङगाना घर परिवारसँग सम्पर्क बिहिन भएपछि ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा ४ र ५ को सिमाना कबरस्थानस्थित पानी जमेको खोल्सामा मृत अवस्थामा फेला परेको र घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरु संलग्न भएको देखिन आए पछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरु उपर जिल्ला अदालत तनहुँबाट १२ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


