धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ को सलाङघाटमा आज भएको माइक्रो बस दुर्घटनामा परी तनहुँको दमौलीमा रहेको रत्नहरी अस्पतालमा कार्यरत १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा कार्यरत २६ वर्षीया मुना गुरुङ भएको धादिङ प्रहरीले पुष्टी गरेको छ ।
सोही दुर्घटनामा गुरुङ सहित १७ जना घाइते भएका थिए । आइतबार बिहान पोखराबाट काठमाण्डौँतर्फ जाँदै गरेको बा. ४ ख २७०४ नम्बरको माइक्रो बसले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा. ८ च ७०३६ नम्बरको कारलाई ठक्कर दिई सोही दिशाबाट आउँदै गरेको ना. ८ ख २०१४ नम्बरको ट्रकसँग ठोक्किएको थियो ।
दुर्घटनामा घाइते भएका हाईस चालक समेत १४ जनालाई राजमार्ग अस्पताल मलेखु, गजुरी अस्पताल र मलेखु टिचिङ अस्पताल हुँदै थप उपचारका लागि नर्भिक अस्पताल काठमाण्डौं रिफर गरिएको छ ।
कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने हाल फरार ट्रक चालकको खोजी गरिरहेको छ ।


