धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ को सलाङघाटमा आज माइक्रो बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । दुर्घटनामा परी ३ जना गंभिर घाईते भएका छन् ।
आइतबार बिहान पोखराबाट काठमाण्डौँतर्फ जाँदै गरेको बा. ४ ख २७०४ नम्बरको माइक्रो बस ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा. ८ च ७०३६ नम्बरको कारलाई ठक्कर दिई सोही दिशाबाट आउँदै गरेको ना. ८ ख २०१४ नम्बरको ट्रकसँग ठोक्किँदा माइक्रोमा सवार १७ जना घाइते भएका हुन् ।
गम्भीर घाइते ३ जना र अन्य ५ जनालाई थप उपचारका लागि काठमाण्डौँ पठाइएको छ । घाइते ३ जनाको गजुरी अस्पताल र बाँकी ६ जनाको मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेनिघाटले जानकारी दिएको छ ।


