कैलाली । जानकी गाउँपालिका ९ अमरावती बस्ने २५ वर्षीय अर्जुन दासको हत्या घटनामा आरोपित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । दासको विभत्स हत्या भएको घटनामा अनुसन्धान गर्ने क्रममा प्रहरीले हत्यामा संलग्न रहेको अभियोगमा ४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका ९ बस्ने १९ वर्षीय सुमित साउद, १९ वर्षीय बमे भन्ने बमबहादुर बोहोरा, १९ वर्षीय रोनी परियार भन्ने दिलिप दास र १९ वर्षीय मनोज भण्डारी रहेको कैलाली प्रहरीले जनाएको छ ।
घटना स्थल
उनीहरुले जानकी गाउँपालिका ९ अमरावती सामुदायिक वनमा गत पुस ३ गते अर्जुन दासलाई मोवाईल चोरी गरेको आरोपमा कुटपिट गरी साजको रूखमा बाधेर खुकुरी प्रहार गरी विभत्स हत्या पश्चात फरार रहेका थिए । पक्राउ परेकाहरूलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले रुपन्देही सिद्धार्थ नगरपालिका १ बेलहिया सिमानाकाबाट फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका ४ जनालाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली बुझाईएको महाशाखाले जनाएको छ ।





















