साँकेतिक तस्बिर
काठमाण्डौं । अमेरिकाले नेपालमा सरकारले मानवअधिकारका उल्लंघनकर्तालाई कानूनी कारबाही गरी जवाफदेही बनाउन नसकेको उल्लेख गरेको छ । अमेरिकी विदेश मन्त्रालयले सन् २०२१ को घटनालाई लिएर हालै सार्वजनिक गरेको वार्षिक रिपोर्टमा सो कुरा समावेश गरेको हो ।
रिपोर्टमा नेपालमा जेलहरु भीडभाडयुक्त र फोहर रहेको उल्लेख गर्दै विभिन्न घटनामा बालबालिकालाई समेत मुछिएको कुराहरु उठान गरिएको छ ।
रिपोर्टमा तत्कालीन प्रधानमन्त्री केपी ओली र तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराबीच भएको भनिएको भेटघाटको विषयमा समाचार बनाउने सञ्चारकर्मीलाई अदालतले बोलाएको कुरा समेत उल्लेख गरिएको छ ।
विदेशी सहयोगको बारेमा उठेको विवादमा स्वागत नेपाल र निर्गराज जैसी समर्थित समूहले सञ्चार माध्यममा उठाएको विषयलाई समेत रिपोर्टमा उल्लेख गरिएको छ ।
त्यस्तै, मन्त्री रामकुमारी झाँक्रीलाई राष्ट्रपतिको विरोध गरेकोमा पक्राउ गरिएको कुरा समेत रिपोर्टमा उल्लेख गरेको छ ।
रिर्पोटमा तत्कालीन प्रधानमन्त्री ओली र भारतको गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङका प्रमुख सामन्थ गोयललाई भेटेको विषयलाई लिएर एक पत्रकारलाई पक्राउ गरिएको प्रसंग समेत रिपोर्टमा उल्लेख गरिएको छ ।


