काठमाण्डौं । भारतमा कोरोना संक्रमण पुनः बढ्न थाले संगै चौथो लहरको आशंका थपिन थालेको छ । अहिले भारतको दिल्ली, गुरुग्राम र मुम्बईलगायत शहरमा संक्रमितको संख्या ह्वात्तै बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै कोरोनाको चौथो लहरको खतरा बढेको चेतावनी विज्ञहरूले दिएका छन् ।
दिल्लीमा पछिल्लो २४ घण्टामा थप २९९ जनामा संक्रमण देखिएको छ । दिल्लीमा कोभिड संक्रमण दर ०।५ प्रतिशतबाट बढेर २.७० प्रतिशत पुगेको छ ।
भारतका जम्मा ७३४ जिल्लामध्ये २९ जिल्लामा संक्रमण दर ५ प्रतिशतभन्दा बढी छ । विश्व स्वास्थ्य संगठनका अनुसार यी जिल्लामा संक्रमण नियन्त्रणबाहिर छ । नयाँ दिल्लीस्थित केही विद्यालयहरु पुनः बन्द भएका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाबाट बच्नका लागि सावधानी अपनाउन सबैमा आग्रह गरेको छ । भारतमा जुन र जुलाईमा कोरोनाको संक्रमण बढ्ने र सेप्टेम्बर महिनासम्म रहने विज्ञहरूको अनुमान छ । तर दोस्रो लहरजस्तो घातक नहुने उनीहरूको भनाइ छ ।
भारतमा कोरोना संक्रमण दर उच्च हुन थाले संगै नेपालमा पनि त्यसको प्रभाव पर्ने स्वास्थ्य विज्ञहरुले अनुमान गरेको छ ।


