एजेन्सी । स्पेनिस ला लिगामा आइतबार राति भएको खेलमा बार्सिलोनाले दोस्रो स्थानमा चित्त बझाउन बाध्य भएको छ । लेभान्टेले ३ पेनाल्टी अवसर पाए पनि बार्सिलोनाको जितलाई रोक्न असफल भएका कारण दोस्रो स्थानमा नै चित्त बुझाउन बाध्य भएको हो । जाभी हर्नान्डेजको प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरिरहेको बार्सिलोनाले ३–२ को विजय हासिल गर्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
जितसँगै बार्सिलोनाले सबैखाले प्रतियोगितामा गरी अपराजित यात्रालाई १५ खेलसम्म लम्बाएको छ । यससँगै बार्सिलोनाले सेभियालाई गोलअन्तरमा पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो ।
बार्सिलोना र सेभियाको समान ६० अंक छ । जुन शीर्ष स्थानको रियाल मड्रिडभन्दा १२ अंकले पछाडि हो । तर बार्सिलोना अझै १ खेल कम खेलेको छ । रियालले शनिबार राति गेटाफेलाई २–० ले हराएको थियो ।
लिगमा अब ७ चरणका खेल बाँकी हुँदा उपाधि सम्भावनाबारे बार्सिलोनाका प्रशिक्षक जाभी भन्छन्, ‘‘उपाधि संघर्ष कठिन हुँदै गएको छ । किनभने रियाल मड्रिडले कुनै गल्ति गरिरहेको छैन । दुबै टिम सामु कठिन खेलहरु बाँकी छन् ।
घरेलु टोली लेभान्टेले ५२औं मिनेटमा जोसे लुइस मोरालेसको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । त्यसको ४ मिनेट वित्न नपाउँदै लेभान्टेले अर्को पेनाल्टी अवसर पायो । तर रोजरले हानेको पेनाल्टी प्रहारलाई बार्सिलोनाका गोलकिपर मार्क–आन्द्रे टेर स्टेगनले बचाइदिएका थिए ।
त्यसपछि बार्सिलोनाका प्रशिक्षक जाभीले निको गोन्जालेजको स्थानमा पेड्रीलाई मैदान छिराए । १९ वर्षे प्लेमेकर पेड्री मैदान छिरेपछि बार्सिलोनाको खेल बद्लिएको थियो । ५९औं मिनेटमा पिइरे–इमेरिक औबमेयाङले बराबरी गोल फर्काएका थिए ।
औबमेयाङले औसमाने डेम्बेलेको क्रसलाई हेडमार्फत पोष्टका दिशा दिएका थिए । त्यसको ४ मिनेट वित्न नपाउँदै बैकल्पिक खेलाडी पेड्रीले गरेको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । पेड्रीलाई युरोपा लिग क्वार्टरफाइनलको पहिलो लेगमा इन्ट्राचट फ्रांकफर्टविरुद्ध आरम दिइएको थियो । जर्मनी भ्रमणमा बार्सिलोनाले फ्रांकफर्टविरुद्ध १–१ को बराबरी खेलेको थियो ।
८३औं मिनेटमा लेभान्टेले अर्को पेनाल्टी अवसर पाएको थियो । गोन्जालेज मेलेरोले उक्त अवसरको सदुपयोग गर्दै बराबरी गोल फर्काए । तर इन्जुरी समयमा बैकल्पिक खेलाडी लुक डी जोङले गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो । डी जोङले जोर्डी अल्बाको क्रसलाई हेडमार्फत पोष्टको दिशा दिएका हुन् । डी जोङ ८४औं मिनेटमा औबमेयाङको स्थानमा मैदान छिरेका थिए ।
२१ जनवरीमा कोपा डेल रेको अन्तिम–१६ मा एथलेटिक बिल्बाओसँग पराजित भएपछि बार्सिलोनाले हारेको छैन ।
ला लिगामा गएराती रियाल सोसिडाडले इल्चेलाई २–१ ले हराउँदै शीर्ष चारको सम्भावना कायम राखेको छ । छैटौं स्थानमा रहेको रियाल सोसिडाडको ५४ अंक छ भने चौथो स्थानमा रहेको एट्लेटिको मड्रिडको ५७ अंक छ । ११औं स्थानको स्पानियोलले १२औं स्थानको सेल्टाभिगोलाई १–० ले हरायो । दशौं स्थानको ओसासुनाले पुछारको क्लब डेपोर्टिभो अलाभेसलाई १–० ले पराजित गर्यो ।



