काठमाण्डौं । बैशाख १ गतेदेखी लागु हुने गरी वाग्मती प्रदेशमा सार्वजनिक गाडीको भाडा बढेको छ । वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको निर्णय अनुसार भाडादर समायोजन गरिएको हो ।
भाडा समायोजनपछि काठमाण्डौं उपत्यकाभित्र सार्वजनिक गाडीमा ५ किलोमिटरसम्म न्यूनतम २० रुपैयाँ भाडा तय भएको छ । यसअघि न्यूनतम १८ रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, १० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३० रुपैयाँ, २० किलोमिटरसम्म ३३ र २० किलोमिटरभन्दा माथि ३८ रुपैयाँ भाडा तिर्नुपर्नेछ ।
यस्तै, ट्याक्सीमा सुरुको न्यूनतम ५० र प्रति २०० मिटरको भाडा १० रुपैयाँ कायम गरिएको छ ।
प्रतीक्षा शुल्क प्रतिमिनेट १ रुपैयाँ २० पैसा तोकिएको छ । बढीमा ३० मिनेटसम्म प्रतीक्षा गर्न पाइनेछ । बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म चल्ने रात्रिकालीन ट्याक्सीमा प्रति २०० मिटरको हकमा १३ रुपैयाँ कायम गरिएको छ ।


