सर्लाही । जनता समाजवादी पार्टी (जसपा)का संघीय सांसद प्रमोद साहमाथि आक्रमण भएको छ । शनिबार सर्लाहीको ईश्वरपुर नगरपालिकाको बयलबास बजारमा बाटो बनाउने विषयमा भएको विवादपछि जसपाका प्रमुख सचेतकसमेत रहेका साहमाथि आक्रमण भएको हो ।
टाउकोमा गहिरो चोट लागेका साहलाई उपचारका लागि काठमाण्डौं लगिएको छ । फुलजोर–त्रिभुवननगर सडक खण्ड विस्तारका क्रममा बयलबास बजारस्थित फुलजोड युवा क्लबको भवन बनाउने कि बाटो कायम गर्ने भन्ने विषयमा दुई पक्षबीच विवाद थियो । सोही विवाद बढ्दै जाँदा शनिबार बिहान दुई पक्षबीच झडप भएको हो ।
सांसद साह पक्षले बाटो कायम हुनुपर्ने अडानमा थिए भने अर्को पक्षले क्लबकै भवन बन्नुपर्ने अडान राख्दै आएका थिए । दुई पक्षबीच मतान्तर बढेपछि केहीबेर ढुंगा हानाहानसमेत भएको थियो । झडपमा ढुंगा लागेका सांसद साहको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । चोट लागेर गम्भीर घाइते भएका साहलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाण्डौं लगिएको इलाका प्रहरी कार्यालय केशरगंजले जनाएको छ ।




















