कालीकोट । कालीकोटबाट काठमाण्डौँ तर्फ जादै गरेको बसमा आगलागी भएको छ । ना. ८ ख २३५६ नंको यात्रुवाहक बसमा अचानक आगलागी हुँदा बस पूर्ण रुपले नष्ट भएको कालीकोट प्रहरीले जनाएको छ ।
बिहान ७ः३० बजे कालीकोटको जिते बजारबाट छुटेको सुर्खेत–नेपालगन्ज हुँदै काठमाण्डौँका लागि जाँदै गर्दा बराहताल गाउँपालिका ८ सुर्खेत ओदाल तालस्थितमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
प्रहरीको प्रारम्भीक अनुसन्धानमा बसमा रहेको तार सट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरीले बसमा आगलागी भएको सूचना पाउने बित्तिकै वीरेन्द्रनगर नगरपालिकाको दमकल लिएर घटना स्थल पुगेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बसमा सवार यात्रु झरेपछि बसमा आगलागी भएकोले कुनै पनि मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक घर्तीले जानकारी दिए । बस चालक सुरेन्द्र थापाका अनुसार ओदालतालस्थित सडकको उकालो सकिने अन्तिम मोडमा बस चल्दाचल्दै केही पड्किएको जस्तो आवाज आएको बताए ।


