काठमाण्डौं । यूट्युव च्यानल मार्फत ब्यत्तिको चरित्र हत्या गरेको आरोपमा आज प्रहरीले २ जनालाई पक्राउ गरेको छ । यूट्युव च्यानल मार्फत अनर्गल वक्तव्य बाजी तथा चरित्र हत्या गरेको भन्दै बुधबार प्रहरीले २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा नागार्जुन नगरपालिका ८ भिमढुंगा बस्ने ५३ वर्षीय हरि उदासी भन्ने हरि परियार र तारकेश्वर नगरपालिका ४ शेषमती बस्ने लमजुङ राईनास नगरपालिका स्थायी घर भएका २७ वर्षीय निशान चिलवाल रहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीले जनाएको छ ।
परियारले ‘नेपाल मिडिया’ र चिलवालले ‘विशाल नेपाल’ नामक यूट्युव च्यानल मार्फत गम्भीर प्रकृतिको अपराध अनुसन्धानको प्रक्रियालाई समेत प्रभावित पार्ने उद्देश्यका साथ पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी भ्रामक समाचार सम्प्रेषण तथा अनर्गल वक्तव्य बाजी गरेको भन्दै उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको खुल्न आएको भन्दै साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
दुवै जनालाई जिल्ला अदालत काठमाण्डौंबाट ७–७ दिन म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोले जनाएको छ ।



