काठमाण्डौं । आफ्नै श्रीमतीको हत्या गरी कतारमा लुकी बसेका सिरहाका १ युवकलाई प्रहरीले पक्राउ गरी नेपाल ल्याएको छ । इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका सिरहा बिष्णुपुर गाउँपालिका ५ लक्ष्मीपुर घर भएका ४१ वर्षीय विक्की मुस्कान भन्ने भोगेन्द्रप्रसाद यादवलाई घटनाको ६ वर्षपछि कतारबाट पक्राउ नेपाल ल्याइएको हो ।
आफ्नै २५ वर्षीया श्रीमती आरती परियारको धारिलो हतियारले घाँटी रेटी हत्या गरेर फरार भएका विक्कीलाई कतारमा पक्राउ परेपश्चात प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाले ईन्टरपोल दोहा कतारसँग समन्वय गरी नेपाल ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।
ललितपुर लेलेमा २०७२ वैशाख १५ गते बिहान आरतीको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । घटनापश्चात वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका विक्की विरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउको लागि महानगरीय अपराध महाशाखाको अनुरोधमा २०७६ पुस १२ गते ईन्टरपोल महासचिवालयबाट ‘डिफ्यूजन’ तथा पुनः २०७७ साउन १९ गते ‘रेड नोटिसु’जारी गरिएको थियो ।
विक्कीलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि महानगरीय अपराध महाशाखामा बुझाइएकोमा इन्टरपोल शाखाले जनाएको छ ।


