सुनसरी । धरानको १ होटलमा लगेर महिलाको हत्या गरेको आरोपमा १ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । ईटहरी उपमहानगरपालिका ५ तुलशाटोलामा डेरा गरी बस्ने पाँचथर मिक्लाजुङ गाउँपालिका १ सरङडाँडा घर भएकी सुमित्रा तामाङको हत्या आरोपमा ईटहरी उपमहानगरपालिका ५ डेरा गरी बस्ने धनकुटा पाख्रीबास नगरपालिका ६ फलाटे घर भएका जिवन राम भन्ने २४ वर्षीय विनेश रानालाई प्रहरीले पक्राउ गरेको हो ।
धरान उपमहानगरपालिका १८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड लजको कोठामा खाटमाथि ओढ्ने ओढाई सुताएको अवस्थामा गएको फागुन १७ गते बिहान १ जना महिलाको शव फेला परेको थियो ।
प्रहरीले अनुसन्धानको क्रममा मृतक सुमित्रा तामाङ भएको खुल्न आएको र थप अनुसन्धानको क्रममा उक्त घटनामा विनेशको संलग्नता भएको खुल्न आएपछि धनकुटा पाख्रीबास नगरपालिका ११ स्थित उनकै ससुराली घरबाट मृतकको मोबाइल सहित विनेशलाई प्रहरीले पक्राउ गरेको हो ।
श्रीमान विदेश रहेको बेला विगत १ वर्षदेखि सुमित्रासँग प्रेम सम्बन्ध रहेकोले पटकपटक भेटघाट हुने गरेको, आपसी सल्लाह अनुसार फागुन १५ गते बिहान उनीहरू उक्त होटलमा बसेको पनि प्रहरी अनुसन्धानमा पत्ता लागेको प्रहरीले जानकारी दिएको छ ।
फागुन १६ गते बेलुकी सुमित्राले अन्य पुरुषसँग मोवाइलमा कुरा गरेको बिषयमा बिबाद हुँदा कुटपिट गरेको र बिबाद बढ्दै जाँदा घाँटी थिचेर सुमित्राको हत्या गरी नगद ५ हजार रुपैयाँ र मोबाइल समेत लिई उनी फरार भएको इटहरी प्रहरीले जनाएको छ ।
विनेश उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


