काठमाण्डौं । फागनु १२ गते नयाँबजारको समृध फार्मेसी लुटपाटमा संलग्न भएको अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गर्न सफल भएको छ । काठमाण्डौं महानगरपालिका १६ नयाँबजारस्थित समृध फार्मेसीमा लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ८ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाण्डौं एयरपोर्ट बस्ने जुम्ला गुठीचौर गाउँपालिका ५ घर भएका २६ वर्षीय देबी प्रसाद धिताल, काठमाण्डौं स्वयंभू बस्ने धादिङ धुनबेशी नगरपालिका ३ घर भएका ३० वर्षीय शंकर रेग्मी, काठमाण्डौं सानोभर्याङ बस्ने डडेलधुरा महाकाली नगरपालिका २ घर भएका २८ वर्षीय हिक्मत महता र काठमाण्डौं चक्रपथ बस्ने कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ४ झलारी घर भएका २७ वर्षीय सुबाष रतोकी रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै गरी, काठमाण्डौं मित्रनगर बस्ने कञ्चनपुर शक्लाफाँटा नगरपालिका २ झलारी घर भएका ३४ वर्षीय मिलन बोहरा, मित्रनगर बस्ने पाँचथर याङ्गक गाउँपालिका ८ च्याङ्थापु बस्ने ३२ वर्षीय लिम्बु भन्ने भविन्द्र बेगा, मित्रनगर बस्ने दैलेख नौमुले गाउँपालिका ५ सल्लेरी घर भएका २७ वर्षीय जिवन भन्ने योगेन्द्र बहादुर चन्द र काठमाण्डौं सामाखुसी बस्ने प्युठान गौमुखी गाउँपालिका ६ घर भएका २१ वर्षीय भिटेन, संगित थापा भन्ने कमल सुनारलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
पक्राउ परेकाहरुले फार्मेसीका संचालकलाई हामी प्रहरी हौं, तपाईको पसलमा अबैध औषधि बिक्री बितरण गर्ने गरेको छ भन्ने सूचना आएकाले हामी खानतलासी गर्न आएका हौं भनि नियन्त्रणमा लिएर खानतलासीको बहानामा लुटपाट गरेका थिए ।
उनीहरुले सो पसलको काउन्टरमा भएको नगद, १ थान मोबाइल, १ थान घडी, ई–सेवामा पठाएको नगद ११ हजार ७०० रुपैयाँ र स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको खातामा रहेको नगद ३ हजार ५०० रुपैयाँ गरी ६५ हजार रुपैयाँ बरावरको लुटपाट गरी फरार भएका थिए ।
पक्राउ परेकाहरुको साथबाट ११ थान मोबाइल, १ थान घडी, १ थान नागरिकता प्रमाणपत्र, ५ थान एटिएम कार्ड र २ थान बैंक चेक बरामद गरको पनि प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुको बारेमा प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।


