काठमाण्डौं । बानेश्वरका संसद भवन अगाडी प्रेसरकुकर बम राखेको आरोपमा प्रहरीले नेरास्वबियु क्रान्तिकारीका पशुपति बहुमुखी क्याम्पस कमिटि अध्यक्ष सुवास महत पक्राउ गरेको छ ।
काठमाण्डौं महानगरपालिका १० नयाँ बानेश्वरस्थित संसद भवन अगाडि मुख्य सडकमा सोमबार प्रेसर कुकर बम राखेको घटनामा संलग्न रहेको अभियोगमा चावाहिल बस्ने काभ्रेपलाञ्चोक भुम्लो गाउँपालिका २ सिमथली घर भएका २१ वर्षीय महतलाई प्रहरीले पक्राउ गरेको हो ।
जनमानसमा भय त्रास सिर्जना गरी आतंकित बनाउने उद्देश्यले उक्त ठाउँमा् प्रेसर कुकर बम राखेको घटनामा संलग्न उनलाई घटनामा प्रयोग भएको मोटरसाइकल सहित महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले काठमाण्डौं गौशालाबाट पक्राउ गरेको जनाएको छ ।
घटनामा प्रयोग भएको बा.प्र.०२–०३०–प ७०८५ नम्बरको मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।


