काठमाण्डौं । नेपाली सिने क्षेत्रमा पछिल्लो समय पर्दामा निकै रुचाइएको जोडी हो, पल शाह र पूजा शर्माको जोडी । कुनै समय यी दुई रिलमा मात्र होइन, रियल लाइफमा पनि अफेयरमा छन् भन्ने चर्चा चल्थ्यो ।
यी दुईले अभिनय गरेको फिल्म म यस्तो गीत गाउँछु–२ हिजैबाट सिनेमाघरहरुमा लागेको छ । त्यही फिल्मको बुधबार कीर्तिपुरमा प्रिमियर गरिएको थियो ।
त्यही प्रिमियरमा जब पलबारे सन्चारकर्मीले पूजालाई सोधे, उनी भक्कानिएर रोइन् । यो कार्यक्रममा पहिले पल पनि सहभागी हुने तय भएको थियो । तर, नाबालिक किशोरीमाथि बलात्कार गरेको किटानी उजुरी प्रहरीमा परेपछि उनी कार्यक्रममा उपस्थित भएनन् ।
त्यसपछि रुँदै पूजा शर्माले भनिन्, ‘जोडी भएर मनकामना जानु हुँदैन रहेछ । हाम्रो टिमलाई एउटा बज्रपातले टाउकोमा घेरेजस्तो महसुुस भएको छ । तर पनि जिन्दगीमा दुःखपछि सुख आउँछ भनेर भनिन्छ । मैले दर्शकको आस गरेको छु, राम्रो फिल्म बनाउने कोसिस गरेका छौं । तर फिल्म बनाउँदा यस्तो हुन्छ भन्ने कहिल्यै सोचेनौं ।’
‘फागुन १३ गते फिल्म रिलिज हुँदैछ भनेर केही न केही उत्साह उमंग छाइरहेको थियो । फेरि कसको नजर लाग्यो थाहा छैन यति गर्दा पनि केही न केही चिजले आँखा लगाएको हो भने म यो क्षेत्रबाट आउट नै हुनुपर्छ जस्तो लाग्छ । किनभने मैले धेरै नै संघर्ष गरिरहेँ जिन्दगीमा र जहिले पनि संघर्ष गर्दागर्दै मिठाइ खान्छु भन्दा ढुंगा परिरहेको हुन्छ मलाई तर पनि मैले हिम्मत हारेको छैन ।’


