एजेन्सी । अन्तत रूसले युक्रेन माथि आक्रमण थालेको छ । रुसले गरेको आक्रमणमा परी ४० जना युक्रेनियन नागरिकको मृत्यु भएको समाचार संस्था एपीले जनाएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक सल्लाहकारलाई उद्धृत गर्दै समाचार संस्था एपीले अहिलेसम्म ४० जनाको मृत्यु भएको बताएको उल्लेख गरेको हो ।
मारिनेहरू सैनिक मात्र थिए कि सर्वसाधारण पनि हुन् भन्ने खुलाएका छैनन् । रूसी आक्रमणबाट दर्जनौं मानिसहरू घाइते भएका छन् ।
रूसले भने आफ्नो आक्रमण नागरिकलाई नभई युक्रेनी सेना र सैनिक संरचनामा केन्द्रीत रहेको बताएको छ ।
यसअघि युक्रेनी सेनाले ५० जना रूसी सैनिक मारिएको दाबी गरेको थियो ।
समाचार संस्था रोयटर्सका अनुसार पूर्वी सहर खार्किभनजिकै चार वटा रूसी सैनिक ट्यांक ध्वस्त पारिएको सेनाले उल्लेख गरेको छ । त्यस्तै रूसले स्वतन्त्र राज्यको मान्यता दिएको लुहान्स्कमा ५० रूसी सैनिक मारिएको युक्रेनी सेनाको दाबी छ । पूर्वी युक्रेनका अन्य क्षेत्रमा हेलिकप्टर सहित ६ वटा सैनिक जहाज खसालेको पनि युक्रेनी सेनाले दाबी गरेको छ ।
रूसले भने आफ्ना जहाज र बख्तरबन्द गाडीमा क्षति भएको कुरा अस्वीकार गरेको छ ।
युक्रेनको बोर्डर गार्ड सर्भिसले खेर्सोन क्षेत्रमा आफ्ना ३ सैनिक मारिएको र धेरै घाइते भएको जनाएको छ ।


