काठमाण्डौं । नक्कली जग्गाधनी पूर्जा देखाई जग्गा बैना गरी रकम ठगी गरेको अभियोगमा उपत्यकाको कपनबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका ११ कपन बस्ने ओखलढुंगा चन्पादेबी गाउँपालिका ८ घरभएका ३९ वर्षीय हितबहादुर बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।
बुढाथोकीले काठमाण्डौं साँखुस्थित साल्खा ६ (ख) मा रहेको कित्ता नम्बर ७५९ को २ रोपनी जग्गामध्ये ८ आना जग्गा ३५ लाख रुपैयाँ मै दिन्छु भनि धनीपूर्जा र नक्शाको फोटो कपी दिई ३५ दिनमा राजिनामा पास गरिदिन्छु भनी जग्गाको बैनाको कागज बनाएर पटक पटक गरी बैंक खातामा पीडितबाट ३३ लाख रुपैयाँ लिइ सक्दा पनि लग्गा पास गर्न आनाकानी गरेपछि मालपोत कार्यालय साँखुमा गई बुझ्दा उक्त जग्गा बुढाथोकीको नाममा नभएको खुल्न आएको थियो ।
विभिन्न बहानामा जग्गा पास नगरी झुलाई रहेपछि पीडितले आफूलाई ठगी गरेको भनि प्रहरीमा उजुरी परे पछि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीको टोलीले बुढाथोकीलाई कपनबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु बुझाएको छ ।




















