सुनसरी । इलामको साबिक बाझो १ स्थायी घरभई हाल बिराटनगर महानगरपालिका ३ स्थित पिपलचोकमा डेरा गरी बस्ने ४३ वर्षीय दिनेश सिक्देलको हत्यामा कान्छी श्रीमती सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मृतककी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र मोरङ बिराटनगर महानगरपालिका ४ इक्राही टोल बस्ने २९ वर्षीय सरोज भण्डारी रहेको प्रहरीले जनाएको छ ।
हत्या पश्चात सुनसरी धरान उपमहानगरपालिका ४ कोशी राजमार्ग अन्तर्गत धरान–धनकुटा सडक खण्डको जेठामाने गोलाईस्थित सडकमा जेब्रा झोलामा फागुन ४ गते टाउको र खुट्टा र सोही ठाउँस्थित झाडीमा जेब्रा झोलामा प्याक गरेको अवस्थामा ५ गते शरीरको भाग फेला परेको थियो ।
घटनास्थलमा फेला परेका दशी प्रमाणको विवरणका आधारमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामार्फत बहराइन प्रहरीसँगको समन्वयमा बहराइनस्थित टाटवीर पेट्रोलियममा सेक्युरिटी गार्ड काम गर्ने दिनेश विदामा नेपाल आएपछि नफर्किएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।
घटनाको अनुसन्धानको क्रममा बहाराइनमा काम गर्ने दिनेश विदामा आउँदा कान्छी श्रीमतीसंगै बस्ने र यस पटक समेत नेपाल आउने जानकारी भए पनि हालसम्म घरमा नआएको भनि खुलेपछि निजको कान्छी श्रीमतीलाई नियन्त्रणमा लिई सोधपुछका क्रममा निज र निजको साथी सरोजको मिलेमतोमा दिनेशको हत्या गरी मृतकको टाउको र तिघ्रा काटी प्लाष्टिकले बेरी झोलाभित्र राखी धरान उपमहानगरपालिका ४ स्थितमा फालेको खुल्न आएको हो ।
दिनेश बहराइनमा हुँदा उनकी कान्छी श्रीमती अनिता र सरोज बीचमा प्रेम सम्बन्ध रही ५–६ महिनादेखि निजहरु श्रीमान श्रीमती झै बसेका, दिनेशले कमाएको रकम अनितालाई पठाउने, सो रकम मोजमस्तीमा खर्च गर्ने लगायत कारणले लामो समयदेखि नै सम्बन्धमा खटपट रहेको र प्रेमी सरोजलाई १ लाख ऋण दिएको हुँदा थप ७५ हजार दिने र दुवै जना विवाह गरी बस्ने सर्तमा अनिताले दिनेश नेपाल आउने जानकारी पाएपछि निजलाई हत्या गर्ने योजना बनाई योजनाबद्ध हत्या भएको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ ।
प्रहरीले वारदातमा प्रयोग भएको १ थान ग्रेण्डर मेसिन, १ थान गल्बन्दी, रगत जस्तो लागेको १ थान सर्ट लगायतका विभिन्न दशी प्रमाण समेत बरामद गरेको छ ।
उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।


