काठमाण्डौं । भन्सार छलि अवैध रुपमा ल्याउँदै गरेको करिब १ किलो सहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
हिमालयन एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाण्डौं आएका बंगलादेशी नागरिक राहदानी नम्बर ए००२६२२२९ वाहक ४७ वर्षीय मोहम्मद तोफिक उल्लाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट ९३६ ग्राम अर्धठोस सुन सहित प्रहरीले पक्राउ गरेको हो ।
अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा खटीएको प्रहरीले चेकजाँच गर्ने क्रममा जिन्स पाईन्टको कम्मरको भागमा फल्स बटम बनाई र भित्री वस्त्रमा लुकाई ल्याएको उक्त सुन फेला पारी उनलाई गरेको प्रहरीले जनाएको छ ।
साथै सोधपुछको क्रममा उनले उक्त सुन भारतीय नागरिक राहदानी नम्बर यू ५४४०२८१ वाहक ४० वर्षीय पारसनाथ साहले भन्सार छलि ल्याउन लगाएको भनी खुलाएपश्चात पारसलाई समेत प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।


