काठमाण्डौं । ललितपुरको सनाकोठीमा सञ्चालित २ वटा कम्पनीले अखाद्य बस्तु उत्पादन गरेको भन्दै सिल गरिएको छ । ललितपुर महानगरपालिका २७ सुनाकोठी ओखटमा सिन्धुपाल्चोक बाडेगाउँ गाउँपालिका १ घर भई हाल काठमाण्डौं ज्याठा बस्ने ४४ वर्षीय नरबहादुर श्रेष्ठले संचालन गरेको ‘स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनी प्रालि’ र ‘श्रीतारा फुड्स एण्ड स्पाइसी प्याकेजिङ प्रालि’ लाई सिल गरिएको हो ।
कम्पनीले अखाद्य वस्तु उत्पादन एवं बिक्री गरेको अभियोगमा सोमबार प्रहरीले सिल गरेको जनाएको छ । ललितपुर सुनाकोठीमा सञ्चालित उत्त उद्योगले अखाद्य बस्तुहरुको उत्पादन एवं बिक्री वितरण गरिरहेको गुनासो आए लगत्तै महानगरीय अपराध महाशाखा मिनभवन काठमाण्डौंबाट खटिएको प्रहरीको बिशेष टोलीले खाद्य तथा गुण नियन्त्रण बिभाग बबरमहलको रोहबरमा दुबै कम्पनीबाट उत्पादित सबै अखाद्य सामग्री तथा कच्चा पदार्थहरु नष्ट गरी कम्पनीहरू सिल गरेको हो ।
दुवै कम्पनीले खाद्य तथा गुण नियन्त्रण बिभागबाट अनुमति समेत नलिई विगत ३ वर्षदेखि म्याद नाघेका र बजारमा बिक्री वितरण नभई फिर्ता भएका कुकिज बिस्कुट तथा सडेगलेका एवं म्याद नाघेका पाउरोटीहरुलाई पुनःधुलो बनाई कुकिज टोष्ट तथा अन्य बिस्कुटहरु बनाई बजारमा बिक्री वितरण गर्दै आएको खुल्न आएको छ ।
यस सम्बन्धमा खाद्य तथा गुण नियन्त्रण बिभाग बबरमहलबाट कारबाही एवं आवश्यक अनुसन्धान कार्य भइरहेको महानगरीय अपराध महाशाखा मिनभवन काठमाण्डौं जनाएको छ ।


